००:००:००
ट्रेन्डिङ
समाचार

उच्च हिमाली क्षेत्रमा भारी हिमपात, उपत्यकामा बढ्यो चिसो

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जनवरी २८
126
उच्च हिमाली क्षेत्रमा भारी हिमपात,  उपत्यकामा बढ्यो चिसो
सारांश
हिमपातसँगै धेरै स्थानमा वर्षा पनि भएको छ।

काठमाडौं । गएरातिदेखि परेको अविरल हिमपातका कारण देशका उच्च हिमाली भेगहरू सेताम्मे भएका छन्। लगातारको हिमपातले जनजीवन प्रभावित हुने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा पनि हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।

उच्च हिमाली क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन्। विशेषगरी मनाङ, मुस्ताङ, सोलुखुम्बु, डोल्पा, हुम्ला, जुम्ला लगायतका जिल्लाहरूमा भारी हिमपात भएको छ। हिमपातका कारण तापक्रम निकै घटेको छ, जसले गर्दा स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। वृद्धवृद्धा र बालबालिकालाई यसबाट थप समस्या परेको छ।

यसको असर उपत्यकामा पनि देखिएको छ । बुधबार बिहानदेखि आकाश धुम्म छ र तापक्रम घटेको छ । हिमपातसँगै धेरै स्थानमा वर्षा पनि भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण सडकहरू चिप्ला भएका छन् र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ। केही ग्रामीण भेगमा सडक अवरुद्ध भएका खबरहरू प्राप्त भएका छन्।

लगातारको हिमपात र वर्षाका कारण जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। यात्रा गर्दा सतर्कता अपनाउन, न्यानो कपडा लगाउन र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन सुझाव दिइएको छ।

अधिकारीहरुले हिमपातका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। साथै, आवश्यक राहत सामग्रीको व्यवस्थापनका लागि पनि तयारी थालिएको छ। थप जानकारीका लागि स्थानीय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार