काठमाडौं । नेपाल र दक्षिण कोरियाका निर्माताको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौं फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्ममा दक्षिण कोरियाका निर्माता तथा निर्देशक बोइम ह्वाङ र काठमाडौं फिल्म्सका संस्थापक तथा सह-निर्माता चन्दन झा जोडिएका छन् । चन्दनले यसअघि फिल्म ‘बाटोः रोड टु डेथ’ निर्माण गरेका थिए ।
बोइम ह्वाङको लेखन तथा निर्देशनमा बन्ने फिल्मको मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन् । उनको अपोजिटमा दक्षिण कोरियाली अभिनेत्री रहने जनाइएको छ । अभिनेत्रीको नाम केही दिनपछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन् ।
निर्देशक ह्वाङका अनुसार फिल्मको कथा पूर्व के-पप स्टार र नेपाली युवाबीचको प्रेम सम्बन्धमा आधारित हुनेछ । रोमान्टिक कमेडी र सुपरनेचुरल तत्त्व समेटिने फिल्ममा के-ड्रामाको स्वादसमेत रहनेछ ।
फिल्मको कथावस्तुबारे निर्देशक ह्वाङले भनिन्, ‘यो रोमान्टिक कमेडी तथा सुपरनेचुरल तत्त्व समेटिएको फिल्म हो । यसमा के-ड्रामाको स्वादसमेत रहनेछ । प्रेम, हास्य र रहस्यको संयोजनमार्फत आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशबीचको रोचक सम्बन्धलाई प्रस्तुत गर्नेछौं ।’
उनका अनुसार फिल्मले एउटा अनौठो तथा अलौकिक प्रेमकथा प्रस्तुत गर्नेछ ।
फिल्मको निर्माण तथा सिर्जनात्मक समूहमा बोइम ह्वाङ र चन्दन झासहित छायांकन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टरका रूपमा उत्पल झा रहेका छन् ।
फिल्मको छायांकन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु गर्ने र मार्चसम्म जारी राख्ने निर्माण पक्षको योजना छ ।





