काठमाडौं । नेपाली फिल्म क्षेत्रमा नयाँ चलचित्र ‘बेहुली’ निर्माण हुने भएको छ। चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको यस फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। फिल्म भदौ १२ बाट प्रदर्शनमा आउँदै छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने कथा र पटकथा माधव शर्माले तयार पारेका हुन्। निर्माता प्रताप राना रहेका छन् भने सह निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल रहेका छन् ।
फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी, सुसान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरि, लोकेन्द्र लेखक, साबिन कटेल, सामैरा थापा मगर लगायत कलाकारहरूको अभिनय रहने जनाइएको छ। कार्यकारी निर्माता सुमन थिङ तामाङ रहेका छन् ।
फिल्मको छायांकन, सम्पादन र अन्य प्राविधिक पक्षमा स्थापित टिम संलग्न छ। विशेषगरी, अर्जुन पोखरेल स्वयं संगीत निर्देशनमा रहने भएकाले फिल्मको संगीत पक्ष बलियो हुने अपेक्षा गरिएको छ।
‘बेहुली’ सामाजिक परिवेशमा आधारित कथा प्रस्तुत गर्ने फिल्म हुनेछ। यसले नेपाली समाज, सम्बन्ध र भावनात्मक पक्षलाई दर्शकसामु उतार्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ कथा र प्रस्तुति खोज्ने क्रम बढिरहेको अवस्थामा यस फिल्मप्रति दर्शकको चासो पनि उल्लेखनीय देखिएको छ।
तस्वीर : योगेन्द्र नगरकोटी










