काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।
ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।
विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।
फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।





