काठमाडौं । नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न संघको ५२औँ साधारण सभाले आगामी तीन वर्षका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ बानेश्वरस्थित वान् सिनेमाजका सञ्चालकसमेत रहेका जबराले अध्यक्ष पदका अर्का प्रत्याशी गोपालकाजी कायस्थलाई १६ मतले पराजित गरेका हुन् । निर्वाचनमा जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत पाएका थिए ।
संघको सदस्य पदमा खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, वितरकतर्फ करण श्रेष्ठ र गोविन्दबहादुर शाही पनि निर्विरोध चयन भएका छन् ।
प्रदेश सदस्यतर्फ कोशी र मधेश प्रदेशबाट चैतन्य बराल, बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
संघको विधानअनुसार अब निर्वाचित सदस्यहरूबीच सहमतिका आधारमा प्रथम उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारी चयन गरिनेछ ।
सन् १९५६ अर्थात् २०१३ सालमा स्थापना भएको नेपाल चलचित्र संघ (नेपाल मोसन पिक्चर्स एसोसिएसन–नेम्पा) चलचित्र हल सञ्चालक तथा वितरकहरूको छाता संस्था हो । संघको पहिलो अध्यक्ष भुवनेश्वर अमात्य थिए । त्यसयता प्रदीप कुमार उदय, मधुसूदन प्रधान, वीरेन्द्रनारायण श्रेष्ठ, नरेन्द्र महर्जनलगायतले संघको नेतृत्व सम्हालिसकेका छन् ।





