००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

बलिउड चलचित्र 'लुटेरा' अभिनेत्री स्वच्छता गुहालाई लिएर न्युयोर्कमा नाटक मञ्चन गर्दै बिमल

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
279
बलिउड चलचित्र 'लुटेरा' अभिनेत्री स्वच्छता गुहालाई लिएर न्युयोर्कमा नाटक मञ्चन गर्दै बिमल
सारांश
बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ।

काठमाडौँ । नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास साबितिमा आधारित नाटक 'साबिति :NOT Guilty न्यूयोर्कस्थित “द ट्याङ्क” थिएटरमा मञ्चन हुने भएको छ। बिमल सुवेदीको लेखन तथा निर्देर्शनमा तयार भएको नाटकमा बलिउड चलचित्र 'लुटेरा'की अभिनेत्री स्वच्छता गुहाले शीर्ष भूमिका निर्वाह गर्नेछिन् ।

नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई एवं दर्जनभन्दा बढी हलिउड चलचित्रमा काम गरिसकेका प्रसिद्ध अमेरिकी कलाकार जड मेयर्सले पनि अभिनय गर्दैछन् । सुवेदीलाई निर्देशनमा राज खत्रीले सहयोग गरिरहेका छन् भने कास्टिङ निर्देशन आयुषा क्षेत्री सञ्जेलले गरेकी छिन् ।

नेपाल र भारतमा बारम्बार मञ्चन भएको नाटकलाई न्यूयोर्कको सन्दर्भ र त्यहाँका दर्शकलाई लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको छ । मूल उपन्यासले एक विपन्न पुरुष पात्रमार्फत कथा प्रस्तुत गरे पनि, नाट्य रूपान्तरणले त्यसको मूल सारलाई ग्रहण गर्दै महिला पात्रमार्फत नयाँ दृष्टिकोण सिर्जना गरेको छ। नाटकले महिला आवाज र सशक्तिकरणलाई अघि बढाउँदै सामाजिक रूपमा निर्माण गरिएका संस्थाहरूलाई आलोचनात्मक रूपमा प्रश्न गर्छ ।

भारतको नेसनल स्कुल अफ ड्रामाबाट डिजाइन र निर्देशनमा स्नातक रंगकर्मी बिमल सुवेदीले नेपाली-अमेरिकी समुदायका अगुवा अमित प्रताप शाहको आपन फाउन्डेसन र द ट्याङ्क थिएटरसँगको सहकार्यमा नाटक गर्न लागेका हुन् । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि यसलाई सांस्कृतिक कूटनीतिका रूपमा प्रवर्द्धन गर्दै आएको छ।

बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ। न्यूयोर्क सहरको मुटुमा अवस्थित यो थिएटरमा मञ्चनको पालो पाउन करिब सात महिनासम्म कुर्नु पर्ने हुन्छ। तर द ट्याङ्क थिएटरकी निर्देशक मेगन फिनले ४६औँ ब्याट्री डान्स थिएटर फेस्टिभलमा बिमलको काम देखेपछि चाँडै मञ्चनको चाँजो मिलाएकी हुन् । यो सम्भव गराउनमा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथन होल्यान्डरको भूमिका रहेको बिमलको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकार तथा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथनले भने - “फेस्टिभलका क्रममा बिमलसँग काम गर्दा म निकै प्रभावित भएँ । अमेरिकी दर्शकले पनि उनको सिर्जना अनुभव गर्नुपर्छ भन्ने लाग्यो। आजको जटिल विश्व सन्दर्भमा यो नाटक नेपाल रअमेरिकाबीचको सांस्कृतिक कूटनीतिको नयाँ सुरुवात हो।”

विगत दुई वर्षदेखि अमेरिकामा सक्रिय रहेका बिमलले गत वर्ष अफ–ब्रडवे शैलीको म्युजिकल नाटक Hitler Is Coming मञ्चन गरेका थिए जसमा नेपाली अभिनेत्री वर्षा राउतले अभिनय गरेकी थिइन् । तर यो पटक बिमलको प्रयासले नेपाली रंगमञ्चको इतिहासमा नयाँ र गौरवपूर्ण अध्याय थपेको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी बताउँछन् । उनका अनुसार,“जगदीश घिमिरेको कथामा आधारित नेपाली नाटकलाई मुख्यधारको थिएटरले स्थान दिनु ऐतिहासिक उपलब्धि हो। यसले हाम्रो सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाईअझ सुदृढ बनाउनेछ।”

बिमल स्वयं पनि यो ‌ऐतिहासिक सुरुवातका लागि उत्साहित छन् । पहिला त अमेरिकामा नाटक गर्नु नै ठूलो उपलब्धि हो अझ नाटक न्युयोर्कको मुटुमा अवस्थित थिएटरमा हुनु नेपाली रङ्गमञ्चका लागि नै गौरवको क्षण हो । तर बिमल नाटकको मञ्चन अमेरिकीसँगै नेपाली दर्शकसँग जोड्ने कडीको रुपमा ठोस सुरुवात हुने विश्वासमा छन् । उनी भन्छन्, “न्यूयोर्कमा धेरै नेपाली विद्यार्थी छन्, तर यहाँको रंगमञ्चले अहिलेसम्म नेपाली नाटकलाई पूर्ण रूपमा अंगालेको छैन। यदि यो नाटक सफल भयो भने त्यो अवस्था परिवर्तन हुन सक्छ।”

बिमलका अनुसार नाटक दुई चरणमा गरी मञ्चन हुनेछ । पहिलो चरण अन्तर्गत नाटक अप्रिल २६ देखि सुरु भएर एक हप्तासम्म चल्नेछ भने त्यसपछि मे महिनामा पुनः प्रदर्शन गरिनेछ । यसपछि नाटक अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना रहेको छ।

यसैबीच, बिमल सुबेदीको निर्देशनमा अमेरिकामा निर्माण भएको चलचित्र ‘हिउँको गीत’ पनि यस वर्षको अन्त्यसम्म नेपाली दर्शकमाझ तथा विश्व बजारमा प्रदर्शन हुने तयारीमा रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार