काठमाडौं । भारतीय फिल्म ‘रामायण’ र नेपाली फिल्म ‘बाटुलो जून’को व्यापारिक दबदबा कायम रहँदा शुक्रबार (आज)देखि दुई नेपाली फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुमा निर्माण भएका दुवै फिल्मको कथाको केन्द्रमा भने महिला पात्र छन् ।
उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’ले देशभरका हलमा ७२ शो पाएको छ । त्यस्तै, परीक्षा लिम्बूको मुख्य भूमिका रहेको ‘हिमालयन गोल्ड’ले ३२ शो पाएको छ । डिजिटल वालेट खल्ती एपमा उपलब्ध विवरणअनुसार दुवै फिल्मको अग्रिम टिकट बुकिङ भने अपेक्षाकृत उत्साहजनक देखिएको छैन ।
अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको ‘जलाकी’मा उपासनासँगै सोनम तोप्देन, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, विजय लामा, शिल्पा मास्के, राजु रेग्मी मगर, भावना मगर र बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ । मगर समुदायको संस्कृति र आस्थाको प्रतीक ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।
त्यस्तै, धीरज राजवंशीको लेखन तथा निर्देशनमा बनेको ‘हिमालयन गोल्ड’ यार्सागुम्बाको कथामा आधारित छ । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको फिल्ममा परीक्षासहित सुनील थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल मुखिया, सजन थापा, ऋषिकेश बस्याल, सुनिल तामाङ, अंकित खड्का, सेविता अधिकारी र तेन्जिङ ठकुरीलगायतका कलाकारको अभिनय छ ।
दुवै फिल्मको अग्रिम बुकिङ कमजोर देखिएकाले अब दर्शकबाट प्राप्त हुने प्रतिक्रिया र वर्ड अफ माउथले फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।





