काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् ।
उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हँुदै जाला । तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ ।’
उनले सांसदको मूख्य भूमिका कानुन बनाउने भएपनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खवरदारी गर्नु रहेको बताए ।
‘हामी विधायक सांसदको भूमिकामा छौं, सांसदको मूल काम के हो? के गर्ने हुने? के गर्न नहुने ? सहायक काम के हो? बुझ्न जरुरी छ विज्ञहरुले प्रष्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौैं र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौं, हाम्रै सरकार बनेपनि औंला उठाउनु, खवरदारी गर्नुपर्छ । आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरुको मुद्दाहरु बुलन्द रुपमा उठाउनुपर्छ,’ उनले भने।
यस्तै, रास्वपाका केन्द्रिय उपसभापति डोल प्रसाद अर्यालले अघिल्लो सदनमा रास्वपाका सांसदहरुले संख्या कम भएकाले नै सोचे जस्तो डेलिभरी गर्न नसकेको बताए ।
‘अघिल्लो पटकको सदनमा रास्वपाका सांसदहरुले सकेसम्म सबै प्रयासहरु गरे तर त्यतिवेला संख्याको अपुग भयो र सोचे जस्तो डेलिभरी गर्न सकेनौं । हाम्रा छोराछोरीहरु देशमा सुशाषन भएन्, भष्ट्राचार भयो, हामीहरुलाई बस्न लायक देश बनाइदिनु भनेर स्कुलको लुगामा झोला बोकेर सडकमा निस्किए । हाम्रो संख्या पुगेको भए ति छोराछोरी स्कुलमा रमाउने थिए,’ उनले भने ।





