मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

दुई दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको ‘सुपरहिट’ ट्याग, तीन करोडमाथि व्यापार

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
0
500
दुई दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको ‘सुपरहिट’ ट्याग, तीन करोडमाथि व्यापार
सारांश
प्रदर्शनमा आएको दुई दिनमै फिल्म ‘कबड्डी ५’ले देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सबाट ‘सुपरहिट’को मान्यता पाएको छ ।

काठमाडौं । प्रदर्शनमा आएको दुई दिनमै फिल्म ‘कबड्डी ५’ले देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सबाट ‘सुपरहिट’को मान्यता पाएको छ । क्यूएफएक्सले आइतबार बिहान आफ्नो वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको हो । सामान्यतया एक सातामा १ करोड ५० लाख रुपैयाँ व्यापार गर्ने फिल्मलाई क्यूएफएक्सले यो ट्याग दिने गरेको छ ।

यस वर्ष ‘गौँथली’ र ‘पेन्सन पट्टा’पछि क्यूएफएक्सबाट ‘सुपरहिट’को मान्यता पाउने ‘कबड्डी ५’ तेस्रो फिल्म बनेको छ । प्रदर्शनको दुई दिनमै यो उपलब्धि हासिल गर्ने सम्भवतः पहिलो नेपाली फिल्म पनि बनेको छ ।

दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्मले अग्रिम बुकिङबाटै राम्रो संकेत देखाएको थियो । एक सयभन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए । दर्शकको उत्साहजनक उपस्थिति र डोर सेलसमेत राम्रो हुँदा फिल्मले पहिलो दिन १ करोड ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । यो यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ हो ।

दोस्रो दिन शनिबार फिल्मको शो संख्या बढेसँगै व्यापारमा थप उछाल आएको छ । शनिबार मात्रै फिल्मले करिब १ करोड ७० लाख रुपैयाँ कमाएको जनाइएको छ । यससँगै दुई दिनको कुल व्यापार ३ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

आइतबार पनि देशभर फिल्मको अकुपेन्सी उच्च रहेकाले तीन दिनमै ४ करोड रुपैयाँको व्यापारिक आँकडा पार गर्ने अनुमान गरिएको छ ।

फिल्मको प्रचारप्रसारमा कलाकारहरू विभिन्न क्षेत्रमा सक्रिय छन् । अभिनेता दयाहाङ राई पोखरामा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । पूर्वी नेपालमा विपिन कार्की र कमलमणि नेपालले प्रचारको जिम्मेवारी सम्हालिरहेका छन् । निर्देशक रामबाबु गुरुङसहित विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङलगायतका कलाकार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, प्रमिला राई र ज्ञानु जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् । निर्देशन रामबाबु गुरुङले गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार