काठमाडौं । फिल्म ‘लालीबजार’को चर्चित गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा सन् २०२६ मार्च १३ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो सफलता हासिल गरेको हो।
गीतले पाँच करोड भ्युजको आँकडा पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी साटेकी छन्। उनले आफ्ना फिल्म नपुगेका ठाउँसम्म गीतले आफूलाई चिनाउन मद्दत गरेको उल्लेख गरेकी छन्।
‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ,’ स्वस्तिमाले लेखेकी छन्।
फिल्ममा समावेश यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको नृत्य तथा अभिनय देख्न सकिन्छ। खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द र खेम सेन्चुरीकै संगीत छ। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
युट्युबमा उल्लेख्य भ्युज पाएको गीत टिकटक र इन्स्टाग्राम रिल्समा समेत लोकप्रिय छ। गीतका विभिन्न अंश प्रयोग गरेर बनाइएका छोटा भिडियोले यसको चर्चा थप विस्तार गरेका छन्।
गत वैशाख २५ गते प्रदर्शनमा आएको ‘लालीबजार’ले हलमा ५१ दिन पूरा गरेको थियो। दसैँको अवसरमा ओटीटी प्लेटफर्म डिगोमा समेत सार्वजनिक भएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि आफ्नो पहुँच विस्तार गरेको छ।
आमा र छोरीको सम्बन्ध तथा शिक्षाको महत्त्वलाई कथाको केन्द्रमा राखिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारले अभिनय गरेका छन्। यही फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय यात्रा सुरु गरेका हुन्।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा तथा प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।





