काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको गीतमा रुबै र प्रवीन बेडुवालले स्वर दिएका छन् । प्रवीन नेपाल आइडल सिजन ३ का फस्ट रनरअप हुन् ।
पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुन समेटिएको गीतमा रूप महानताले संगीत, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । तीन दशकअघिको नेपाली समाज र त्यतिबेलाको मेलाको परिवेशलाई समेटेर तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन् ।
भिडियोमा अनमोल र प्रिन्सीबीचको नोकझोंकलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । उनीहरूलाई आकर्षक नृत्य गर्दै गरेको पनि देख्न सकिन्छ । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा भुवन केसी र गरिमा पन्तको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । फिल्ममा उनीहरूसँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाली समाजको ३०–४० को दशकको प्रेमकथामा आधारित फिल्मको लेखन सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ ।
फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह-निर्माताका रूपमा रहेका छन् ।





