दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्ना प्रतिस्पर्धीहरू पैसाको ब्रिफकेस बोकेर मतदाता खरिद गर्न हिँडेको बताएका छन् । आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
शिवाकोटीले निर्वाचनको समयमा अस्वस्थ्य गतिविधि भइरहेको दाबी गर्दै भने, "निर्वाचनको दौरानमा कालो ब्रिफकेस बोकेर हाम्रा साथीहरूलाई तौलन हिँडिरहेको पाइएको छ। काठमाडौँका बन्द कोठा र होटलहरूमा आर्थिक चलखेल भइरहेको सूचना आएको छ। यस्ता गतिविधि जहाँ देख्नुहुन्छ, त्यहाँ धावा बोले हुन्छ।" उनले जनताले दिएको मत खरिद बिक्रीको वस्तु नभएको उल्लेख गर्दै यदि कसैले जबर्जस्ती पैसा दिएमा 'खाइदिए पनि मत नहाल्न' मतदातालाई आग्रह गरे ।
लामो समय जनप्रतिनिधि भएर पनि काम नगर्ने र चुनावका बेला पैसाको आडमा मतदातालाई 'खेताला' सम्झिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए । "हामीलाई संसद्मा गएर 'हाई' गरेर बस्ने वा तलब भत्तामा मात्रै आँखा गाड्ने प्रतिनिधि चाहिएको छैन," उनले भने, "जनप्रतिनिधि त जनताको फाइल बोकेर अड्डा–अदालत र मन्त्रालयमा दौडिने हुनुपर्छ। जिल्लाको स्रोत–साधन र खोलानाला झोलामा हालेर बेच्नेहरूबाट अब दोलखा बच्नुपर्छ ।"
गोलमेश्वर महादेवलाई साक्षी राखेर उनले आफ्नो राजनीतिक निष्ठाको कसमसमेत खाए । शिवाकोटीले भने, "म महादेवलाई साक्षी राखेर भन्छु - म कुनै पनि अनियमितता वा भ्रष्टाचारजन्य क्रियाकलापमा फस्ने छैन। जुन दिन म अनियमिततामा फस्छु, त्यही दिन मेरो राजनीतिक जीवनको अन्त्य हुनेछ ।"
उनले कतिपय ठाउँमा वर्तमान जनप्रतिनिधिहरूले नै कार्यकर्तामाथि दबाब र अप्ठ्यारो सिर्जना गरेको उल्लेख गर्दै त्यस्तो व्यवहार सह्य नहुने र त्यसको उचित जवाफ दिने चेतावनीसमेत दिएका छन् ।





