मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ६ निवासी फडिन्द्र कार्कीलाई प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार हिजो दिनको करिब साढे दुई बजेतिर प्रहरी टोलीले नियमित चेकजाँच गर्दा शंकास्पद गतिविधिका आधारमा कार्कीलाई रोक्न खोजेको थियो। प्रहरीले उनलाई रोक्ने प्रयास गर्दा स्कुटरमा सवार कार्कीले भाग्ने कोसिस गरेका थिए।
स्थानीय प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार, प्रहरीले शंका लागेर सोधपुछ गर्न खोज्दा कार्की स्कुटर हुइँक्याएर भागेका थिए। प्रहरीले तत्कालै उनलाई पछ्याएको थियो। भाग्ने क्रममा बाँसबारी चोकमा उनको स्कुटर अनियन्त्रित भई लडेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका कार्कीको साथबाट बरामद गरिएको ब्राउन सुगरको यकिन परिमाणबारे प्रहरीले थप खुलाउन बाँकी रहेको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




