काठमाडौं । सुब्रत आचार्यको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पच्चीस पच्चीस’को छायांकन सुरु भएको छ । बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । शुभमुहूर्त समारोहमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको थियो ।
फिल्मको छायांकन काठमाडौं आसपासका क्षेत्रमा ४० दिनसम्म गरिने निर्माण पक्षले जनाएको छ । कर्ण इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम र रोयल आचार्यलगायतका कलाकारको अभिनय रहनेछ ।
दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यही फिल्ममार्फत नेपाली चलचित्रमा डेब्यू गर्दैछन् ।
सुब्रत आचार्य र जयाको कथा रहेको फिल्मको पटकथा सुशील देवकोटाले लेखेका हुन् । फिल्ममा कर्ण कार्की निर्माता रहेका छन् । उनले यसअघि फिल्म ‘होस्टल ३’ निर्माण गरेका थिए । त्यस्तै, दीपेन्द्र गौतम कार्यकारी निर्माता तथा धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माताका रूपमा छन् ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, प्रशान्त सिवाकोटीको संगीत, राजु तामाङको द्वन्द्व निर्देशन, किरण थापाको कोरियोग्राफी, ज्योति केसीको पोसाक डिजाइन तथा योगेश काजीको ध्वनि संयोजन रहनेछ ।
फिल्मको वितरण रोहित–रत्नको कम्पनी आरआर फिल्म्सले गर्नेछ । निर्माण पक्षले फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ ।





