मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

‘महाभारत’देखि ‘गजनी’सम्म चम्किएका प्रदीप रावत अब सम्झनामा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
28
1.0K
‘महाभारत’देखि ‘गजनी’सम्म चम्किएका प्रदीप रावत अब सम्झनामा
सारांश
भारतीय फिल्म उद्योगका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौं । भारतीय फिल्म उद्योगका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। भारतीय कलाकार यशपाल शर्माले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका हुन् । अभिनेत्री रोशनी आचरेजाले पनि भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै रावतको निधन भएको जानकारी दिएकी छन्। भारतीय मिडियाले समेत उनको निधनको समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रावत विगत करिब पाँच वर्षदेखि ब्लड क्यान्सरबाट पीडित थिए। उपचारपछि केही समय स्वास्थ्यमा सुधार देखिए पनि पछिल्ला महिनाहरूमा रोग पुनः बल्झिएको थियो। उपचारकै क्रममा मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनले अन्तिम सास लिएका हुन्। परिवारले बुधबार अन्तिम संस्कार गरिने जनाएको छ।

सन् १९५२ जनवरी २१ मा मध्य प्रदेशको जबलपुरमा जन्मिएका रावतले सन् १९८८ मा प्रसारण भएको चर्चित टेलिसिरियल महाभारत’बाट अभिनय यात्रा सुरु गरेका थिए। उक्त सिरियलमा उनले अश्वत्थामाको भूमिका निभाएका थिए। पछि तमिल र हिन्दी भाषामा बनेको सुपरहिट फिल्म ‘गजनी’मा शक्तिशाली खलनायकको भूमिकाले उनलाई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित बनायो।

उनको पहिलो हिन्दी फिल्म ‘मेरी जंग’ हो। त्यसपछि उनले तेलुगु, तमिल, भोजपुरी, कन्नड, मलयालम, बंगाली, मराठी, ओडिया, अंग्रेजीलगायत विभिन्न भाषाका दुई सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

रावतले नेपाली फिल्म क्षेत्रमा पनि उल्लेखनीय उपस्थिति जनाएका थिए। उनले ‘ह्रस्व दीर्घ’मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिका निर्वाह गरेका थिए। त्यसपछि ‘आ बाट आमा’मा अभिनय गरेका उनी सोही फिल्मको सिक्वेलमा पनि देखिनेछन्, जुन आगामी दशैंमा प्रदर्शनको तयारीमा छ। केही साताअघि मात्रै उनी नेपाल आएर आफ्नो भूमिकाको छायांकन पूरा गरेर फर्किएका थिए।

उनको निधनपछि नेपाली कलाकार विपना थापा, नीता ढुंगाना, उषा उप्रेती, सविन श्रेष्ठ र विशाल पहारीलगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। निर्देशक चन्द्र पन्त, जसले रावतसँग एक भोजपुरी र तीन नेपाली फिल्ममा सहकार्य गरेका थिए, उनले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार