काठमाडौं । दुई समुदायबीच तनाव उत्पन्न भएपछि कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ।
शनिबार बिहान बर्दगवामा इद पर्वका अवसरमा मुस्लिम समुदायले नमाज अदा गरिरहेका बेला हिन्दू समुदायले ठूलो आवाजमा भजन बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। सो विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको हो।
झडपका क्रममा ५ जना प्रहरी र ३ जना स्थानीय गरी कुल ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको हो।
उनले तोडफोड र झडपको अवस्था देखिएपछि यस्तो निर्णय लिनुपरेको बताए। घाइते हुनेमध्ये सशस्त्र प्रहरीका ३ जना र जनपथ प्रहरीका २ जना रहेका छन् भने ३ जना स्थानीय पनि घाइते भएका छन्।
शनिबार राम नवमी तथा इद दुवै पर्व परेकाले मन्दिर र मस्जिदतर्फबाट बजाइएका माइकको आवाज चर्को भएको विषयमा विवाद बढ्दै झडपमा परिणत भएको जनाइएको छ।
सम्भावित थप झडप रोक्न जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म भेला, सभा तथा जुलुस गर्न निषेध गर्दै निषेधाज्ञा लागू गरेको हो।
प्रशासनका अनुसार निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको छ।






