००:००:००
ट्रेन्डिङ
समाचार

जिम्मेवार सरकार चाहिएको हो, आश्वासन होइन

Rangamanch
Rangamanch
२०२६ जनवरी १६
59
जिम्मेवार सरकार चाहिएको हो, आश्वासन होइन
सारांश
यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् । यही परिस्थितिमा दलहरू पार्टी एक...

यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् । यही परिस्थितिमा दलहरू पार्टी एकता, आन्तरिक शक्ति सन्तुलन र महाधिवेशनतर्फ केन्द्रित भएका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सरकार आफ्नो हातमा पार्ने होडबाजी तीव्र बन्दै गएको छ । एकातिर जनता नयाँ अनुहार र वास्तविक विकासको अपेक्षा गरिरहेका छन् भने अर्कातिर परम्परागत दलहरू एमाले, कांग्रेस, रास्वपा, नेपाली कम्युनिष्ट पार्टीलगायत फेरि पनि सत्तामा आउने दाबीका साथ सक्रिय देखिन्छन् ।

नेताहरूको व्यवहार भने अझै पनि विवादरहित छैन । कतिपय नेताहरू आफ्नो विगतका गल्ती स्वीकार नगरी पुनः सत्तामा पुग्नैपर्ने सोचमा छन् भने केहीले जेनजी आन्दोलनबाट ठूलो पाठ सिकेको दाबी गर्दै अब फरक ढंगले देश चलाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । तर यस्ता प्रतिबद्धता धेरैजसो भाषणमै सीमित हुने गरेको अनुभव जनतासँग छ । चुनाव नजिकिँदै जाँदा मात्र जनताका कुरा सुन्ने, हात जोड्ने र आश्वासन बाँड्ने प्रवृत्ति पुरानै रोगका रूपमा दोहोरिएको देखिन्छ ।

चुनाव आउनु दुई महिना अघिदेखि मात्रै नेताहरू गाउँ गाउँ पुगेर जनताको अत्यधिक माया देखाउन थाल्छन् । भोट माग्न विभिन्न बहाना अपनाइन्छ, पैसा बाँडिन्छ, लोभ देखाइन्छ र प्रविधिका नाममा भोट किन्ने काम गरिन्छ । तर एकपटक चुनाव जितेपछि जनतालाई बिर्सने, विकासका कुरा ओझेलमा पार्ने र सत्ता तथा शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति निरन्तर दोहोरिँदै आएको छ । यही कारण जनतामा गहिरो निराशा र अविश्वास बढ्दै गएको छ ।

आजको यथार्थ के हो भने नेपालमा करिब पाँच प्रतिशत मात्र मानिस सचेत रूपमा राजनीति बुझेर सत्तामा पुग्ने प्रयास गर्छन् । बाँकी धेरैजसो अवस्थामा माइक अगाडि चिल्ला भाषण गर्ने, भावनामा खेल्ने र जनताको आँखामा छारो हाल्ने व्यक्ति नै राजनीतिमा हाबी हुन्छन् । दस वर्षअघि सुरु भएका विकासका योजना अझै पनि पूरा नभएको अवस्था छ, जसले राजनीतिक असक्षमता र नेतृत्वको गैरजिम्मेवारी स्पष्ट देखाउँछ ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको पैसाको प्रभाव हो । अहिले जससँग धेरै पैसा छ, उसैले चुनाव जित्ने अवस्था सिर्जना भएको छ । पैसा बाँडेर भोट जित्ने प्रवृत्तिले शिक्षित, इमानदार र क्षमतावान व्यक्तिहरू राजनीतिबाट पछाडि पर्दै गएका छन् । अब आउने निर्वाचनमा यस्तो अवस्था दोहोरिन नदिन सबै नेता, कार्यकर्ता र नागरिकले गम्भीर रूपमा सोच्न र बुझ्न जरुरी छ ।

हामीलाई भोट किन्न दिने, पैसा चाहिएको होइन, हामीलाई जिम्मेवार सरकार चाहिएको हो । युवालाई स्वदेशमै रोजगारी चाहिएको छ, गाउँ–गाउँमा समान विकास चाहिएको छ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा चाहिएको छ । युवाहरू बाध्य भएर विदेशिनु नपरोस्, कसैको गुलामी बन्नु नपरोस् भन्ने नै हाम्रो चाहना हो । नेताहरूको कार्यशैली र त्यसबाट उत्पन्न जनताको निराशा बुझेर अब सचेत नागरिकको रूपमा सही निर्णय गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार