मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

बारामा आमा–छोराको विभत्स हत्या, दुई घाइते

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जनवरी २८
137
620
बारामा आमा–छोराको विभत्स हत्या, दुई घाइते
सारांश
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।

रौतहट । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।

बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार, अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन्।

घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन। ‘हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ डिएसपी पण्डितले भने।

यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको छ भने तालिमप्राप्त कुकुर सहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार