काठमाडौं । प्रेम, विवाह र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई समेट्दै निर्माण गरिएको फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । उत्पत्तिका एकादशीको अवसर पारेर मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको चार मिनेटभन्दा लामो ट्रेलर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
ट्रेलरले फिल्मको कथावस्तु र मुख्य द्वन्द्वलाई झल्काउने प्रयास गरेको छ । सुरुवातमा विजय बराल र अञ्जना बराइलीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । अञ्जनासँग विवाह गर्न विजयले घोडा चढ्न सिक्नेदेखि आफ्नो हाउभाउ र पहिरनमा समेत परिवर्तन ल्याएको दृश्य ट्रेलरमा समावेश छन् । उनीहरूको विवाहसमेत हुन्छ ।
तर, त्यसपछि कथाले अप्रत्याशित मोड लिन्छ । कौडाको खेल सुरु भएसँगै विजयको पारिवारिक जीवनमा उथलपुथल आएको संकेत ट्रेलरले गर्छ । अझ रोचक पक्ष त अञ्जनाको वैवाहिक सम्बन्धलाई लिएर देखिएको अन्योल हो । सुरुमा विजयकी श्रीमतीका रूपमा देखिएकी अञ्जना पछि विनोद न्यौपानेसँग विवाह बन्धनमा बाँधिएको दृश्यमा देखिन्छिन् । आखिर अञ्जना कसकी श्रीमती हुन् ? यो प्रश्नले ट्रेलरप्रति दर्शकको कौतुहलता बढाउन सक्छ ।
फिल्मलाई ट्रेलरमा ‘भाग्य र नियतिबीचको खेल’का रूपमा प्रस्तुत गरिएको छ । यसले प्रेम र सम्बन्धसँगै भाग्य तथा परिस्थितिले मानिसको जीवनमा पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको अनुमान गर्न सकिन्छ ।
‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, उषा खड्गी, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता नेम महर्जन हुन् ।
निर्देशक पौडेलकै कथा रहेको फिल्मलाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी र सुप्रिम पराजुलीको रंग संयोजन रहेको फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता छन् ।





