काठमाडौं । एक्सनप्रधान फिल्म ‘एक्का तीन’को औपचारिक निर्माण सुरु भएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित थिए ।
मंसिर २५ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सुशील श्रेष्ठ, बुद्धि तामाङ, पूजा शर्मा, कविता नेपाली, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायत कलाकारको अभिनय रहनेछ । यही फिल्ममार्फत आयशा तामाङले अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशन रुपेश तामाङले गर्नेछन् । यसअघि उनले ‘जय भोले’ र ‘दान्भी’ जस्ता एक्सनप्रधान फिल्म निर्देशन गरिसकेका छन् । रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता राजु श्रेष्ठ हुन् । फिल्मको पटकथा तथा संवाद सुमन गजमेरले लेखेका छन् ।
दुई श्रृंखलामा निर्माण गर्ने योजना रहेको ‘एक्का तीन’मा सौरभ लामाको छायांकन, अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत, साहिल खानको सम्पादन तथा राजु किराँतीको द्वन्द्व निर्देशन रहनेछ । फिल्मको निर्माण व्यवस्थापन रविन बानियाँले सम्हाल्नेछन् ।
काठमाडौं र चितवनमा छायांकन गरिने फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने निर्माण पक्षको लक्ष्य छ ।





