००:००:००
ट्रेन्डिङ
राजनीति

सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड

R
Rangamanch
२०२६ जनवरी ३०
16
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड
सारांश
प्रचण्डका अनुसार, आज नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको छ, र यो सबै सहिदहरूको अमूल्य बलिदानकै परिणाम हो।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको बलिदानलाई स्मरण गरेका हुन् ।

उनले ती सहिदहरूको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु रहेको बताए ।

प्रचण्डका अनुसार, आज नेपाल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्म आइपुगेको छ, र यो सबै सहिदहरूको अमूल्य बलिदानकै परिणाम हो।

प्रचण्डले आज पनि सहिदहरूको सपना अझै पूर्ण नभएको भन्दै सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको बताए ।

सहिदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहने प्रचण्डको भनाइ छ ।

प्रचण्डले सबैलाई आत्मसमीक्षा गर्ने, विचलित नहुने र जनताको पक्षमा दृढतापूर्वक उभिएर संघर्षको बाटोमा अघि बढ्ने दिनको रूपमा सहिद दिवसलाई लिन आग्रह गरेका छन्। साथै, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गर्न सबैलाई आह्वान गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार