काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । बाढीका कारण केही दिन प्रचारप्रसार स्थगित गरेको निर्माण टिमले मंगलबार तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
ग्रामीण भेगमा भारी बोकेर जीविकोपार्जन गर्ने भारियाको जीवन संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर मुख्यतः अभिनेता जितु नेपालको वरिपरि केन्द्रित छ । उनी फिल्ममा ‘कार्की साइँला’को भूमिकामा देखिएका छन् ।
भारी बोकेर जीवन चलाउँदै आएका कार्की साइँलाले सन्तान नहुँदा पारिवारिक विग्रह भोग्नुपरेको ट्रेलरमा देखाइएको छ । यसैबीच सहरबाट गाउँ आएकी युवतीको भूमिकामा रहेकी प्रियना आचार्यसँग उनको प्रेम सम्बन्ध स्थापित भएको पनि देखिन्छ । जसले फिल्म पारिवारिक सम्बन्धसँगै त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, मान्शी शर्मा, कमल देवकोटा, मनिल तामाङ, विरेन्द्र सिंह कुशवाहा, दिप्सन लिम्बू, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायतका कलाकारको अभिनय छ ।
बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । अनन्त राई कार्यकारी निर्माता रहेको फिल्मको कथा डम्बर राईले लेखेका हुन् ।
सविन अधिकारी र शंकर धितालको पटकथा तथा संवाद रहेको फिल्ममा डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।





