काठमाडौं । नेपाली फिल्म ‘सुपरस्टार’को चर्चित गीत ‘गुराँस फुल्दा’ २५ वर्षपछि नयाँ स्वरूपमा दर्शकमाझ आएको छ । अभिनेत्री प्रियंका कार्की निर्मित फिल्म ‘मास्टर्नी’का लागि यो लोकप्रिय गीतलाई पुनः सिर्जना गर्दै सार्वजनिक गरिएको हो ।
२०५८ सालमा निर्माण भएको ‘सुपरस्टार’मा समावेश ‘गुराँस फुल्दा’मा भारतीय गायिका साधना सरगमको स्वर सुन्न सकिन्थ्यो । दयाराम दाहालको शब्द र सचिन सिंहको संगीत रहेको उक्त गीत त्यसबेलाको चर्चित गीतमध्ये एक हो ।
फिल्म ‘मास्टर्नी’का लागि संगीतकार वसन्त सापकोटाले गीतलाई नयाँ शैलीमा तयार पारेका छन् । नयाँ संस्करणमा गायिका मेलिना राईको स्वर रहेको छ भने सुहास शाक्यले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउतलाई परम्परागत पहिरनमा देखाइएको छ । दुवैले गम्भीर विष्टको कोरियोग्राफीमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोको छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी पवन सुस्लिङ्गले सम्हालेका छन् ।
‘मास्टर्नी’को प्रचारका क्रममा यसअघि सार्वजनिक गरिएको प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ विवादमा आएपछि युट्युबबाट हटाइएको थियो । त्यसपछि निर्माण टिमले भुवन केसीसँग अनुमति लिएर ‘गुराँस फुल्दा’लाई नयाँ पुस्ताको स्वादअनुसार पुनः प्रस्तुत गरेको हो ।
सार्वजनिक भएसँगै नयाँ संस्करणले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । विशेषगरी मेलिना राईको स्वर, गीतको नयाँ संगीत संयोजन तथा भिडियोमा प्रस्तुत गरिएको मौलिक नेपालीपनको प्रशंसा भइरहेको छ ।
भदौ ५ गतेदेखि प्रदर्शनमा आउने ‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा र अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय छ ।
आयांका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता छन् । भारतीय मूलका शुभेन्द्र घोषले निर्देशन गरेको फिल्मका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार हुन् ।
प्रियंका कार्कीको कथामा आधारित फिल्मको पटकथा शान बस्नेतले लेखेका छन् भने संवाद प्रियंका र शान बस्नेतको संयुक्त रहेको छ । युवराज इन्दोरियाले छायांकन गरेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।





