काठमाडौं । बहुचर्चित टीकापुर घटनाका दोषी ठहर भएका रेशम चौधरीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेको छ। चौधरीले कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगले जनाएको छ ।
उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको छ ।
आठ जना प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई नै सर्वोच्च अदालतले ०८० जेठ २ मा सदर गर्दै चौधरीलाई दोषी ठहर गरेको थियो ।
तर, फैसलाको १२ दिनपछि २० वर्ष कैद सजाय तोकिएका उनले एक तिहाइ अवधिसमेत सजाय भुक्तान नहुँदै ०८० जेठ १४ को मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बाँकी सजाय मिनाहा गरेपछि उनी गणतन्त्र दिवसको दिन ०८० जेठ १५ मा रिहा भएका थिए ।
विद्यमान कानुनमा सार्वजनिक ओहोदा वा लाभको पद वा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय भोगिसकेको मितिले दुई वर्षसम्म भुक्तान नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ ।




