००:००:००
ट्रेन्डिङ
राजनीति

राजीनामा दिएपछि खरेलले भने : ‘जेनजी पुस्ताप्रति नतमस्तक छु’

Rangamanch
Rangamanch
6 घण्टा अगाडि
0
राजीनामा दिएपछि खरेलले भने : ‘जेनजी पुस्ताप्रति नतमस्तक छु’
सारांश
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकाल र जेनजी जनआन्दोलनप्रति धारणा...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकाल र जेनजी जनआन्दोलनप्रति धारणा राखेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खरेलले जेनजी जनआन्दोलनको जगमा बनेको प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको सरकारमा आफूले असोज ६ गतेदेखि माघ ५ गतेसम्म करिब चार महिनाको अवधिमा मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको बताए । उनले उक्त अवधिमा देश र जनताको सेवा गर्न पाएकोमा गौरव महसुस गरेको उल्लेख गरे ।

खरेलले जेनजी आन्दोलनका प्रतिनिधिहरूले देखाएको साहस र राजनीतिक चेतनाको खुलेर प्रशंसा गरे । उनले २७ घण्टाभित्रै मुलुकको राजनीतिमा कायापलट ल्याउने गरी भएको जनआन्दोलनले देशलाई परिवर्तनको बाटोमा अगाडि बढाएको बताए ।

उनले भने, ‘जेनजी जन आन्दोलनको जगमा बनेको प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको यो सरकारमा मैले असोजको ६ गतेबाट आज माघको ५ गते चार महिनाको अवधि सञ्चार तथा सुचना प्रविधि मन्त्रीको रुपमा देश र जनताको सेवा गर्ने अवसर पाए । जेनजी आन्दोलनको क्रममा जेनजी प्रतिनिधिहरुले जुन शाहस देखाएर २७ घण्टाको अवधिमा मुलुकको राजनीतिमा एउटा कायापलट हुने गरेर जन आन्दोलन गर्नु भयो र त्यो जनआन्दोलनले आज मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाइरहेको छ । म जेनजी पुस्ताहरुमाथि नतमस्तक भएर सलुट गर्न चाहन्छु ।’

उनले उमेरले राष्ट्रसेवामा कुनै फरक नपर्ने उल्लेख गर्दै जेनजी पुस्ताले नेपाल आमाप्रतिको माया, आत्मीयता र समर्पण प्रमाणित गरेको बताए । जेनजी प्रतिनिधिहरूको निस्वार्थ आन्दोलनप्रति सधैं सम्मान रहने उनको भनाइ थियो ।

आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दै खरेलले मन्त्री बनेपछि चार महिनाको अवधिमा मन्त्रालयअन्तर्गत ४० भन्दा बढी महत्वपूर्ण निर्णय कार्यान्वयनमा गएको जानकारी दिए । साथै मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूले हासिल गर्नुपर्ने १५० भन्दा बढी उपलब्धिहरू पनि यस अवधिमा प्राप्त भएको उनले दाबी गरे । पत्रकार सम्मेलनमा उनले परिवर्तनको जगमा मुलुकलाई अगाडि बढाउने काम निरन्तर जारी रहने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाल आमाको सेवा गर्नको लागि, माया गर्नको लागि, आत्मियता देखाउनको लागि उमेरले केही फरक पर्दैन । जेनजी पुस्ताले त्यो प्रमाणित गर्यो । जुन राजनीतिक चेतना देखाएर आज परिर्वतन भएको छ । त्यो परिवर्तनको जगमा मुलुकलाई अगाडि बढाउने काममा छौं । निस्वार्थ जेनजी प्रतिनिधिहरुको आन्दोलनप्रति मेरो सधैंभरी सम्मान रहने छ । मैले मन्त्री भएपछि यो चार महिनाको अवधिमा मन्त्रालय अन्तरगतका ४० भन्दा बढी महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा गएको छ । उपलब्धिहरु हासिल भएको छ । त्यो बाहेकका मन्त्रालय अन्तरगतका निकायहरुले हासिल गर्नुपर्ने उपलब्धिहरु १५० भन्दा बढी भएका छन्। यी उपलब्धिहरु चार महिनाको अवधिमा सञ्चार मन्त्रालय अन्तरगत भएका छन् ।’

साझा गर्नुहोस्:

सम्बन्धित समाचार