००:००:००
ट्रेन्डिङ
राजनीति

गगन थापा भन्छन् : सत्ता र सरकारका लागि कांग्रेस अब जोसँग पनि मिल्दैन

रङ्गमञ्च
3 दिन अगाडि
55
गगन थापा भन्छन् : सत्ता र सरकारका लागि कांग्रेस अब जोसँग पनि मिल्दैन
सारांश
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि कहिल्यै पार्टीको स्वार्थ नराख्ने बताएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि कहिल्यै पार्टीको स्वार्थ नराख्ने बताएका छन्। उनले सत्ता र सरकारका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिबाट कांग्रेस टाढा रहने स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले सिद्धान्तसँग सम्झौता नगर्ने कांग्रेसको अडान दोहोर्‍याएका छन्। ‘सत्ता र सरकारमा पुग्नका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने कांग्रेस होइन। आवश्यक परे सरकार बाहिर बस्छ,’ उनले भने, ‘हामी राष्ट्रिय हितलाई सर्वोपरी मान्छौं।’

थापाले अहिलेको कांग्रेस पुरानो नभई नयाँ भएको दाबी गर्दै यो परिवर्तन अनुहारमा नभई सोच र शैलीमा आएको बताए। ‘अनुहार बदलिएको होइन, सोच बदलिएको छ, शैली बदलिएको छ,’ उनले भने। उनले हिजोका सबै नेता खराब र अहिलेका सबै असल भन्ने अर्थमा नयाँ कांग्रेस नबुझ्न आग्रहसमेत गरे। नयाँ कांग्रेसको अर्थ पुरानोसँग सम्बन्ध विच्छेद गर्नु नभएको थापाको भनाइ छ। कांग्रेसभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला थापाको यो भनाइले विशेष महत्व राख्छ।

लोकतन्त्र, सामाजिक न्याय र विविधताको सम्मान कांग्रेसको आत्मा र जरा भएको उल्लेख गर्दै उनले यही मूल्यमान्यतालाई तलसम्म विस्तार गर्ने लक्ष्य नयाँ कांग्रेसको रहेको सभापति थापाले बताए। उनले कांग्रेसले अब देशको विकास र समृद्धिका लागि नयाँ दृष्टिकोणका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही-४ बाट उम्मेदवार बनेका छन्। उनले मतदातालाई आफूलाई जिताएर देशको सेवा गर्ने मौका दिन आग्रह गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार