काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीका लागि यस वर्ष सुखद रहेन । उनले ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘आचार्य’ बक्स अफिसमा असफल भयो । करिब ५ करोड रुपैयाँको लागतमा निर्माण भएको फिल्मले २ करोड रुपैयाँको व्यापारसमेत गर्न सकेन । फिल्मको असफलतासँगै निखिलको स्टारडममाथि समेत प्रश्न उठ्न थालेको छ । कतिपयले ‘निखिल युग’ सकिएको टिप्पणीसमेत गरेका छन् ।
‘आचार्य’को असफलतापछि करिब दुई महिना सार्वजनिक रूपमा खासै सक्रिय नदेखिएका निखिल शुक्रबारदेखि आफ्नो नयाँ फिल्म ‘कस्तुरी’को छायांकनमा फर्किएका छन् । फिल्मको करिब १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र अबको एक साताभित्र सम्पूर्ण छायांकन सक्ने तयारी गरिएको छ ।
फिल्ममा निखिलको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । टेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्ममा शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ (भँगेरी डन), भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायतका कलाकारको अभिनय छ । अतिथि भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन् ।
ऋत बोहोराको निर्देशनमा बनिरहेको फिल्मको पटकथा पनि निर्देशक बोहोराले नै लेखेका हुन् । फिल्ममा धीरजकुमार अग्रवाल निर्माताका रूपमा छन् । टेन प्लास्ट इन्डस्ट्रीजका अध्यक्ष अग्रवालले यही फिल्मबाट निर्माणमा डेब्यु गरेका हुन् । अञ्जली चौधरी सह-निर्माताका रूपमा छिन् ।
फिल्ममा आलोक शुक्लाको छायांकन र प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।





