००:००:००
ट्रेन्डिङ
राजनीति

एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २
28
एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार
सारांश
‘आफ्नै पार्टी नेतृत्वको सरकारले युवाको परिवर्तन चाहनालाई आतंकवाद करार गरिरहेको छ, यस्तो कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु,’ उनले भने । पार्टीभित्र व्यक्तिवाद र मनोमालिन्य हाबी भएको उनको आरोप छ ।

हेटौँडा । नेकपा ९एमाले० मा करिब ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गरेलगत्तै रामचन्द्रले एमालेसँगको लामो राजनीतिक सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

२०४८ सालदेखि एमालेसँग आबद्ध उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् । २०४८ सालमै प्रथम बालसहिद अनिश शाक्यको हत्याविरुद्ध आयोजित सांस्कृतिक नाटकमा अनिशकै भूमिका निर्वाह गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेको स्मरण गर्दै उनले वर्तमान नेतृत्वले युवाको आवाज दबाएको आरोप लगाए ।

‘आफ्नै पार्टी नेतृत्वको सरकारले युवाको परिवर्तन चाहनालाई आतंकवाद करार गरिरहेको छ, यस्तो कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै म पार्टी परित्यागको घोषणा गर्दछु,’ उनले भने । पार्टीभित्र व्यक्तिवाद र मनोमालिन्य हाबी भएको उनको आरोप छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर–२ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले बुधबार मनोनयन दर्ता गराएका छन् । एमालेबाट महेश बर्तौला, नेपाली कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट, प्रलोपाबाट सन्तोष विष्ट उम्मेदवार बनेका छन् । रास्वपाबाट प्रशान्त उप्रेती, उज्यालो नेपाली पार्टीबाट प्रवीण कुमार स्याङ्तान, मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान, नेशनल रिपब्लिक नेपालबाट सूर्य तामाङ बल, आम जनता पार्टीबाट सूर्य राई, नेमकिपाबाट सरोज तामाङ, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, माओवादी केन्द्रबाट राम घलान, राप्रपाबाट रामबहादुर थोकर, जसपाबाट छविलाल वाइवा र जनमोर्चाबाट निरबहादुर सिन्तान उम्मेदवार छन् । स्वतन्त्रतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले पनि उम्मेदवारी दिएका छन् । निर्वाचन फागुन २१ गते हुँदैछ ।

भौगोलिक रूपमा विकट मानिने यस निर्वाचन क्षेत्रमा तामाङ र चेपाङ समुदायको बाहुल्य छ । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढीका उत्तरी वडासहित कैलाश, राक्सिराङ, भीमफेदी र मनहरी गाउँपालिका यस क्षेत्रभित्र पर्छन् । २०४८ सालयता कम्युनिस्टको गढ मानिँदै आएको यस क्षेत्रमा एमालेको संगठन बलियो मानिन्छ । २०७९ को निर्वाचनमा एमालेका महेश बर्तौलाले आफ्ना गुरु मानिएका पूर्व एमाले नेता विरोध खतिवडालाई पराजित गरेका थिए । यसपटक बर्तौला दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसबाट मकवानपुर जिल्ला सभापति बुद्ध लामा उम्मेदवार बनेका छन् भने नेकपाबाट थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट मैदानमा छन् । जनजाति बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ । उता, नेकपाका विष्टले मेयर हुँदा गरेका विकास, सुशासन र पारदर्शितासम्बन्धी कामको प्रभाव अझै कायम रहेको स्थानीय बताउँछन् ।

रास्वपाबाट २५ वर्ष ननाघेका प्रशान्त उप्रेती नयाँ अनुहार हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको टिमसँग निकट मानिने उनी रास्वपाको ‘क्रेज’ उपयोग गर्नुपर्ने चुनौतीमा छन् ।

कमजोर संगठन, विकट भूगोल र सीमित नेटवर्कका कारण प्रविधिमार्फत मतदाता समेट्न कठिन हुने देखिए पनि युवा उम्मेदवारका रूपमा उनले चुनावी माहोल तताउने अपेक्षा गरिएको छ । यस क्षेत्रमा उज्यालो नेपाली पार्टीका प्रवीण स्याङ्तान र प्रलोपाका सन्तोष विष्टजस्ता युवा उम्मेदवारले पनि ठूला दलको मत समीकरणमा प्रभाव पार्ने आँकलन गरिएको छ ।

बलियो संगठन, स्थानीय शक्ति सन्तुलन र नयाँ दलहरूको प्रवेशसँगै यसपटक मकवानपुर–२ को प्रतिनिधिसभा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार | Rangamanch