काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ। निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेसी तोकिएको छ। यो मुद्दाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा तरंग ल्याएको छ।
देउवा समूहले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो। उनीहरुले थापा समूहलाई आधिकारिकता दिने निर्णय पार्टीको विधान र प्रक्रिया विपरीत भएको आरोप लगाएका छन्। देउवा समूहका नेताहरुले यस विषयमा पार्टीभित्र छलफल नै नगरी निर्वाचन आयोगले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
आजको पेसीले यस मुद्दालाई थप अगाडि बढाउने अपेक्षा गरिएको छ। सर्वोच्च अदालतले दुवै पक्षको बहस सुनेर निर्णय दिनेछ। अदालतको निर्णयले गगन थापा समूहको वैधानिकता कायम रहने वा नरहने भन्ने कुराको टुंगो लाग्नेछ।
सोमबार बिहान शेरबहादुर पक्षा मुद्दा फिर्ता लिन सहमत भएको आसयका समाचार आएको भए पनि साँझमा शेरबहादुर र पूर्णबहादुर खड्का दुवै पक्षले समाचारको खण्डन गरेका थिए ।
गगन थापा समूहले भने निर्वाचन आयोगको निर्णय सही भएको दाबी गर्दै आएको छ। उनीहरुले पार्टीको विधान र प्रक्रिया अनुसार नै आफूहरुले आधिकारिकता पाएको बताएका छन्। थापा समूहले अदालतको निर्णयलाई स्वागत गर्ने बताएको छ।




