००:००:००
ट्रेन्डिङ
राजनीति

चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी

Rangamanch
Rangamanch
5 घण्टा अगाडि
57
चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी
सारांश
प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ ।

निर्वाचनका कारण निकुञ्ज आसपास नयाँ मानिसको आवतजावत बढ्ने भएकाले अवाञ्छित गतिविधि रोक्ने र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

निकुञ्ज प्रशासनका अनुसार निर्वाचनको समयमा सुरक्षाकर्मीको ध्यान अन्यत्र मोडिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष गस्ती र निगरानी प्रणाली सक्रिय गरिएको छ। सफारी, जंगल वाक, बोटिङ र होटल–लज क्षेत्रमा सुरक्षा उपस्थिति थप गरिएको छ ।

सूचना अधिकारी अविनास थापा मगरका अनुसार निर्वाचनको माहोलमा चितवन घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले कुनै असहजता महसुस नहोस् भन्ने व्यवस्था गरिएको छ ।

पर्यटन चितवनको पहिचान हो भएकाले संरक्षण र पर्यटन दुवैलाई सन्तुलनमा राखेर काम गरिरहेको उनले बताए ।

नेपाली सेना, निकुञ्ज सुरक्षाकर्मी र स्थानीय समुदायको सहकार्यमा कोर क्षेत्र, मध्यवर्ती क्षेत्र तथा पर्यटकीय रुटहरूमा नियमित गस्ती बढाइएको छ ।
९५२.६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ मध्यवर्ती उपभोक्ता समिति, ५७ स्थायी र ३ अस्थायी पोष्ट ‘हाइ अलर्ट’मा राखेर कर्मचारी परिचालन गरिएको छ।

स्थानीय पर्यटन व्यवसायीहरू पनि सुरक्षा सतर्कता बढेसँगै पर्यटकको विश्वास कायम रहनेमा आशावादी छन्।
निर्वाचनको चहलपहलबीच पनि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षित, जिम्मेवार र दिगो पर्यटनलाई निरन्तरता दिने प्रयासलाई प्राथमिकतामा राखेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार