काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन् ।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा।नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन् । बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे ।
उनले सन् २०२३ मा उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ’नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन् ।
कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए । २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए ।
२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिए । त्यससँगै उनको व्यावसायिक कानुनी यात्रा सुरु भयो । उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल, मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थाहरूसँग आबद्ध भएर पनि काम गरेका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रुपमा पनि सक्रिय थिए ।





