काठमाडौँ - एसएलसी परीक्षाका लागि दुई वर्ष मात्र बाँकी रहँदा गौँथलीको विवाह हुन्छ । बिरामी हजुरआमालाई जेठी नातिनीको गोडा धुन नपाए स्वर्ग जान पाइन्न भन्ने डर छ । यही डरका कारण रातारात गौंथलीको विवाह गराइन्छ । जबकि गौंथली विवाह गर्नभन्दा पनि पढेर आफ्नै खुट्टामा उभिने र गाउँको पहिलो एसएलसी पास गर्ने बालिका बन्ने सपना देखेर बसेकी हुन्छे ।
नेपाली समाजमा विवाह र सन्तानलाई लिएर अनेक रुढिवादी मान्यताहरु छन्, गौंथलीले हजुरआमाको चरित्रमार्फत यो मान्यता उजागर गरेको छ । यसले देखाउँछ, गौंथलीको विवाह उसको इच्छा वा चाहनाको विषय नभई सामाजिक परम्परा र अन्धविश्वाससँग जोडिएको कुरा हो । गौंथलीले २५ वर्षअघि गाउँ समाजमा व्याप्त यस्तै विकृतिसँगै शिक्षाको उज्यालोको कथा प्रस्तुत गर्छ ।
त्यसबाहेक यो चलचित्रले घरेलु हिंसा, पीडा, क्रूरता र प्रतिकूल परिस्थितिमा पनि अन्तमा प्राप्त हुने सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ । शिक्षाको अधिकारबाट वञ्चित भई आफ्नै परिवारमा अपहेलित जीवन जिउन बाध्य पारिएकी एक किशोरीको सफलताको कथा यो चलचित्रको प्राण हो । तर गौंथलीको चरित्रिकरणमा देखिएको कमीले चलचित्रको मुद्दा र घटना मज्जाले कथामा उनिएका भने छैनन् । मुद्दा छाडेर चलचित्र घरेलु दृश्यमा लामो समय अलमलिन्छ जहाँ भावनात्मक उतारचढाव देखाउने दृश्य त छन् तर कथाको लक्ष्य भने छुटेको छ ।
चलचित्रको मूलकथा गौंथलीले गाउँको पहिलो एसएलसी पास हुन्छु भनेर आफैँसँग गरेको वाचा हो । मास्टरसँग गरेको वाचा हो । त्यो वाचा पूरा गर्न गौंथलीले प्रयत्न त गरेकी छे तर उसको प्रयत्नभन्दा सासुबुहारीको झगडाले चलचित्रको धेरै भाग खाएको छ । त्यसमा गौंथलीका श्रीमान् बनेका अरुण क्षेत्रीको अटिजम र त्यसलाई सार्थक बनाउने दृश्यको मागले पनि गौंथलीको पढ्ने प्रयत्न छायाँमा पारेको छ ।
कथाले दर्शकलाई गहिराईमा नपुर्याए पनि चलचित्रका दृश्यहरू तीव्र गतिमा अघि बढ्छन् र एकपछि आउने घटनाक्रमले दर्शकलाई कमजोरी महसुस हुने मौका दिँदैनन् । कथाको मेलो ड्रामाटिक संरचना र सोही अनुसारको पार्श्व संगीतलाई पर्दाबाट दायाँबायाँ हुने अवसर दिँदैनन् । सबैले आत्मसात गर्न सक्ने कथा र चलचित्रको गति नै यो चलचित्रका विशेषता हुन् ।
चलचित्रमा केही यस्ता दृश्यहरू छन् जसले साँच्चै नै मन छुन्छन् । सबैभन्दा मर्मस्पर्शी दृश्यचाहिँ गौथलीको गर्भावस्थासँग सम्बन्धित छन् । बच्चा पेटमा आएपछि गौंथली, ठूले लगायत परिवारका सदस्य सबै जना खुसी हुन्छन् । तर उमेरभन्दा ठूलो भारी र घाँस दाउराको बोझ बोकिरहेकी गौँथलीले बच्चा त जन्माउँछे तर मृत । बस यसपछि त के थियो, सासुले सारा समस्या गौंथलीको थाप्लोमा राखेर हुनसम्मको वचन लाउँछिन् र गौँथलीलाई घरबाट निकाल्छिन् । गौंथली घरबाट निकालिने दृश्य र माइतीमा पुग्ने दृश्यले जस्तो सुकै कठोर मन भएका दर्शकको पनि मन पगालिन्छ ।
निर्देशक कपिल रिजाल र उनको लेखन टिमले नेपाली समाजमा रहेको पितृ सत्तात्मक सोचलाई कथाभरि छरेको देखिन्छ । तर यो सोचको प्रस्तुति भने अलि एकहोरो महसुस हुन्छ । नढाँटी भन्नुपर्दा सासु छुच्ची हुने र मुख्य पात्रले कल्पनाभन्दा परको दुख पाउने पुरानो लेखनको परम्परालाई नै गौंथलीले समातेको छ । विकृतिहरूको चित्रणलाई प्रभावकारी बनाउन चलचित्रले सकेसम्म धेरै नकारात्मक पक्षहरूको एकोहोरो र निरन्तर चित्रण गर्नुपर्छ भन्ने ठानेको देखिन्छ। तर यदि कथावाचन र प्रस्तुति अझ परिष्कृत हुन्थ्यो भने यस्तो निरन्तर नकारात्मक चित्रणका बाबजुद पनि चलचित्र उत्कृष्ट बन्न सक्थ्यो । यसले गम्भीर कथामा चलचित्र बनाउँदा बनाउँदै पनि निर्माण टिम सशक्त चलचित्र दिनबाट भने चुकेको छ ।
कथामा रहेका कमजोरीहरूमध्ये ठूलेको रोगसँग गौंथली र उसका माइतीको परिचय हो । ठूलेलाई दर्शकले एकैपटक बिहेमा देख्छन् । लमीले कुल खान खानदान र दाइजो नलिने भनेकै भरमा केटाको कुरा ल्याएको छ र विवाह भएको छ । तर दिनभर विवाह गरेर राति सुत्ने बेलामा मात्र गौंथलीलाई आफ्नो पतिमा अटिजम भएको थाहा हुन्छ । दिनभर केही थाहा नहुनु र राति मात्र थाहा दिनु निर्माण टिमको बठयाँई हो जुन दर्शकलाई बिझाउँछ । तर फरक क्षमताको ठूले र गौंथलीको विकसित प्रेम चलचित्रको उल्लेख्य पाटो हो । सक्षमहरुले पाइला पाइलामा हेला गरेको बेलामा शारीरिक र मानसिक रुपमा अक्षम ठूलेले गरेको मायाले दर्शकलाई द्रवित बनाउँछ । चलचित्रको दोस्रो हाफमा दुईबिचको बिछोड र मिलनले चलचित्रलाई बलियो बनाएको छ । खासमा भन्नु पर्दा चलचित्रको सफलताको आधार नै यही प्लट हो ।
चलचित्रमा ठूलेको अटिजमलाई दिइएको मुख्य भूमिका प्रशंसनीय लाग्छ । हिरो भन्ने बित्तिकै सर्वगुण सम्पन्न हुनुपर्ने मान्यतालाई चिर्दै लेखकसमेत रहेका निर्देशक कपिल रिजालले हिरोलाई रोग बोकेको तर मानवीय संवेदनाले भरिपूर्ण चरित्र बनाएका छन् । चलचित्रमार्फत् उनले अटिजम भएका व्यक्तिहरूले समाजमा घुलमिल हुन र दैनिक कामकाज गर्नमा भोग्नुपर्ने कठिनाइहरूलाई मानवीय र प्रगतिशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । चलचित्रको सुरुमा ठूलेलाई बच्चाजस्तो गरी रिसाउने र आक्रोशित हुने देखाइएको छ । तर गौंथलीसँगको संगतसँगै उनले आफ्नो आक्रोशलाई नियन्त्रण गर्न र आफ्नी श्रीमतीलाई माया गर्न सिक्छन् । ठूलेमा आएको यो परिवर्तन पनि चलचित्रको सबल पक्ष हो । उनले श्रीमतीका लागि गर्ने संघर्षले दर्शकलाई ठूलेप्रति सहानुभूतिशील बनाउँछ । महिलाको लडाईँमा पुरुषले साथ दिएको मीठो देखिएको छ ।
समग्रमा भन्नुपर्दा, ‘गौथली’ एउटा यस्तो सामाजिक चलचित्र हो जसको कथा पुरानो समयसँग गएर जोडिएको छ तर चरित्रले गर्ने संघर्ष र सफलतामा यसले अहिलेको समयलाई पनि उत्तिकै प्रभावकारी हिसाबले छुन्छ । यस सन्दर्भमा चलचित्र सफल हुने अनुमान गर्न सकिन्छ ।
समाचारमा आएअनुसार ‘गौथली’ ले सुरुवाती चरणमै राम्रो व्यावसायिक सफलता हासिल गरेको छ र आगामी दिनहरूमा अझ धेरै दर्शकले यो चलचित्र हेर्नेछन् । यदि केही दर्शकले मात्रै पनि परम्पराका कारण महिलाहरूले भोग्नुपर्ने पीडा र अटिजमबारे मानवीय बुझाइ हासिल गरेर हलबाट बाहिर निस्किए भने, यो चलचित्रले सकारात्मक परिवर्तनको दिशामा योगदान पुर्यारएको मानिनेछ ।




