काठमाडौं । तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सशान कँडेल निर्देशित तथा माधव शर्मा लिखित फिल्मको ट्रेलरमा प्रेम, वियोग, हाँसो, रोदन र एक्सनलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको प्रेमकथालाई केन्द्रमा राखिएको छ ।
परिस्थितिका कारण लुकिछिपी हिँडिरहेका पारस र दिव्याबीचको प्रेम तथा वियोगलाई ट्रेलरमा देखाइएको छ । साथै, जोगीको भेषमा हुने सुन तस्करीको कथालाई पनि फिल्मले समेटेको संकेत ट्रेलरले गरेको छ ।
ट्रेलरको रोचक पक्षका रूपमा दिव्या आफ्नै पिता अभिनेता दीलिप रायमाझीको गेटअपमा देखिएकी छन् ।
फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ । सुशान्तले यही फिल्ममार्फत करिब आठ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । सम्पादन विकास दाहाल र बनिष शाहले गरेका छन् ।




