काठमाडौं । निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं दोस्रो सन्तानका अभिभावक बनेका छन् । दीपिकाले शनिबार छोरीलाई जन्म दिएसँगै भट्टराई दम्पतीको परिवारमा नयाँ सदस्य थपिएको हो ।
यसअघि एक छोराका अभिभावक रहेका दिवाकर र दीपिकाको घरमा छोरीको आगमन भएको हो । छोरी जन्मिएको खुसी दिवाकरले सामाजिक सञ्जालमार्फत समेत व्यक्त गरेका छन् ।
दिवाकरले आफू अब छोरा र छोरी दुवैको पिता बनेको उल्लेख गर्दै छोरीको आगमनलाई शब्दमा बयान गर्न नसकिने खुसीका रूपमा व्याख्या गरेका छन् । साथै, सन्तान जन्माउन दीपिकाले गरेको पीडा, त्याग र साहसप्रति उनले आभार व्यक्त गरेका छन् ।
दिवाकरले छोरीको जन्मसँगै आफ्नो परिवार पूर्ण भएको अनुभूति भएको बताएका छन् । उनले छोरीलाई आफ्नो घरको नयाँ उज्यालोको संज्ञा दिँदै दीपिकाप्रति प्रेम र कृतज्ञता व्यक्त गरेका छन् ।
दिवाकर र दीपिका नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हुन् । विवाहपछि उनीहरूले पारिवारिक जीवनसँगै चलचित्र क्षेत्रमा आफ्नो व्यावसायिक यात्रालाई पनि निरन्तरता दिँदै आएका छन् ।




