काठमाडौं । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः तथ्यांकअनुसार प्रदर्शनको १० दिनमा फिल्मले १ करोड ५८ लाख ८४ हजार १३६ रुपैयाँ ग्रस कमाएको छ ।
भदौ २१ गतेसम्म ‘पार्वती’का ५४ हजार ७३५ वटा टिकट बिक्री भएका छन् । १० दिनमै फिल्मले डेढ करोडभन्दा बढीको व्यापार गरेको हो ।
यता अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘मास्टर्नी’को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । प्रदर्शनको १७ दिनमा फिल्मले १२ हजार १९७ टिकट बिक्री गर्दै ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । पछिल्लो सात दिनमा ‘मास्टर्नी’ले जम्मा ६२ हजार ३४० रुपैयाँ मात्रै कमाएको छ ।
यसैबीच, साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ले भने बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ । भदौ २१ गतेसम्म फिल्मले २५ करोड ८६ लाख २८ हजार ६१५ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा ‘गौँथली’का ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् । फिल्म हालसम्म यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ ।
बोर्डले ‘हली’को पनि पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ । साउन २२ गतेदेखि प्रदर्शनमा रहेको फिल्मले भदौ २१ गतेसम्म २३ लाख ३२ हजार ४७० रुपैयाँ ग्रस कमाएको छ । फिल्मका ८ हजार ५२५ वटा टिकट बिक्री भएका छन् ।
‘हली’ले अघिल्लो सातासम्म २३ लाख ११ हजार २७० रुपैयाँ कमाएकोमा पछिल्लो सात दिनमा जम्मा २१ हजार २०० रुपैयाँ मात्र आम्दानी थपेको देखिन्छ ।




