काठमाडौं । भोजपुरमा नेपाली सेनाको बस दुर्घटनामा परेको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको हो ।
यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । भोजपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।





