काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’को नयाँ दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक भएको छ। फिल्मको टिजर र ‘अचेल किन कान्छी’ गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्यूज पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीबार नयाँ गीत सार्वजनिक गरेको हो।
‘क्या दामी देखियो’मा दसैंको माहोलसँगै परदेशीको कथा र दसैंमा लगाइने टीका–जमरा लगायतका विषयलाई समेटिएको छ। गीतमा बाबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालको स्वर रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीकै हो।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत र निकिता आचार्यलगायत देखिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दसैंको पारिवारिक तथा सांस्कृतिक माहोल प्रस्तुत गरिएको छ।
असोज ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडा र बेगम नेपाली (भटभटे माइला) लगायतका कलाकारको पनि अभिनय छ। दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र हो। त्यस्तै, ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङले यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा तथा पटकथा चन्द्र पन्तको हो। सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम–लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन रहेको छ।
चलचित्रले आमा–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारीले परिवारमा पार्ने प्रभावको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।





