काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले सडक आन्दोलन सुरु गरेका छन्।
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरूले विरोध जनाएका हुन्। च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिक कार्यकर्ताहरूले टायर बाल्नुका साथै कार्की आयोगको प्रतिवेदन जलाएर प्रदर्शन गरेका छन्। सो क्षेत्रमा प्रहरीको उपस्थिति भने न्यून देखिएको छ।
प्रदर्शनका क्रममा केही कार्यकर्ताले सञ्चारकर्मीप्रति आक्रामक व्यवहार देखाएका छन्। पत्रकारलाई लक्षित गर्दै उनीहरूले ‘देश जल्दा कहाँ थियौ? अहिले किन खिच्दैछौ? पछाडि हट’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।
जेनजी आन्दोलनको छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्व विशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो। पछिल्लो निर्वाचनपछि गठन भएको बालेन नेतृत्वको सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएको छ। सरकार गठन भएको पहिलो दिनमै सो निर्णयसँगै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको थियो।
शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ।





