काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले शनिबार टायर बालेर प्रदर्शन गरेको हो । पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो।
ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले बालेन सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै यसको भण्डाफोर गर्न आवश्यक रहेको बताएका छन् ।
दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदैछ । लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ ।
यता ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । सचिवालय बैठक बसेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल लगायतका क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका थिए ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहानै एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।





