००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

घटेको छैन गायिका यशोदाप्रति क्रेज, ‘दिन ढल्यो अँधेरी रातमा’ गीतले गुन्जिन्छ स्टेज

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
27
1.0K
घटेको छैन गायिका यशोदाप्रति क्रेज, ‘दिन ढल्यो अँधेरी रातमा’ गीतले गुन्जिन्छ स्टेज
सारांश
‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा...’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली ।

काठमाडौं । ‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा...’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली । नेपाली आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी पराजुलीले मधुर स्वर र भावपूर्ण प्रस्तुतिबाट दशकौँदेखि स्रोताको मन जितेकी छन् ।
गायन यात्राकै क्रममा संगीतकार तथा उनका जीवनसाथी गणेश पराजुलीसँगको सहकार्य दाम्पत्य सम्बन्धमा परिणत भयो । संगीत र जीवन दुवैमा सहयात्री बनेका यो जोडीले विगत अढाई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय योगदान दिँदै आएका छन् ।
‘दिन ढल्यो अँधेरी रातमा’ मात्र होइन, यशोदा पराजुलीका आवाजमा सजिएका अन्य लोकप्रिय गीतहरू पनि स्रोतामाझ उत्तिकै प्रिय छन् । ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरु, हिमाल चुली मनतिर पानी भर्ने पँधेरो’ लगायतका गीतहरूले उनको गायकीलाई थप उचाइ दिएका छन् ।
रेडियो नेपालबाट सुरु भएको उनको सांगीतिक यात्रा आजपनि निरन्तर छ । समयसँगै संगीतका माध्यम र प्रविधि बदलिँदै गएपनि यशोदाको स्वरप्रतिको आकर्षण भने स्रोतामाझ उस्तै छ ।
यशोदाले अहिलेको संगीत क्षेत्र आफ्नो समयको तुलनामा धेरै सहज र अवसरयुक्त भएको बताइन् । उनले प्रविधि र सामाजिक सञ्जालको विस्तारले नयाँ कलाकारलाई स्थापित हुन सहज बनाएको धारणा व्यक्त गरिन् ।
हाल काठमाडौंमा रहेकी पराजुलीले विगतमा आफ्नो अधिकांश बसाइ हङकङमा भए पनि पछिल्ला करिब तीन वर्षदेखि नेपालमै बढी समय बिताइरहेको बताइन् । यस अवधिमा कार्यक्रमका सिलसिलामा युनाइटेड किङ्डम र संयुक्त राज्य अमेरिका समेत पुगेको उनले जानकारी दिइन् ।
उनका अनुसार अहिलेका कलाकारका लागि अवसर र माध्यम दुवै बढेका छन् । ‘हाम्रो समयमा एउटा रेडियो नेपाल र नेपाल टेलिभिजनमै सीमित हुनुपथ्र्यो । अहिले फेसबुक, टिकटकलगायत धेरै माध्यम छन् । एउटा राम्रो गीत आयो भने कलाकारलाई चिनिन र स्थापित हुन सजिलो भएको छ,’उनले भनिन् ।
तर सफलता टिकाइराख्न निरन्तर मेहनत आवश्यक रहेको उनको भनाइ छ । ‘क्षणिक रूपमा काम गरेर तुरुन्तै फल खोज्नेहरू धेरै समय टिक्न सक्दैनन् । सिकेर, मेहनत गरेर र समय लगानी गरेर अघि बढ्नेहरूका लागि अहिलेको समय राम्रो छ,’उनले भनिन् ।
पराजुलीले संगीत सिक्न चाहनेहरूका लागि अहिले गुरु र प्रशिक्षणका अवसर पनि प्रशस्त रहेको उल्लेख गरिन् । यसले नयाँ पुस्ताका कलाकारलाई दीर्घकालीन रूपमा अघि बढ्न सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भनिन्, ‘अहिलेको कलाकारहरूलाई हाम्रो समय र अहिलेको कलाकारमा कम्प्यारिजन गर्दा सजिलो अप्ठ्यारोको हेर्दाखेरि अहिलेकोलाई धेरै सजिलो छ जस्तो लाग्छ । किनभने हाम्रो समयमा एउटा रेडियो नेपाल अनि कुनै भिजुएलहरू बनाइयो भने नेपाल टेलिभिजन मात्रैमा सीमित हुन्थ्यौँ, तर अहिले धेरै माध्यमहरू छन् । अहिले गुरु र प्रशिक्षणका अवसर पनि प्रशस्त छन् ।’
नेपाली कलाकारको जीविकोपार्जनका विषयमा बोल्दै उनले नेपालभित्रको बजार मात्र भरपर्दो नभएको बताइन् । उनले नेपालमै बसेर संगीतबाट मात्रै जीवनयापन गर्न सक्ने कलाकारको संख्या सीमित रहेको बताइन् ।
‘विदेशमा रहेका नेपाली समुदायले कलाकारलाई धेरै सहयोग गरेका छन् । कहिलेकाहीँ आफन्त वा समाजले नै कलाकारलाई कार्यक्रममा बोलाएर प्रोत्साहन गर्छन् । यसले कलाकारलाई ठूलो टेवा पुगेको छ,’ उनले भनिन् ।
कुराकानीका क्रममा पराजुलीले आफ्नो पहिचान स्थापित गराएको चर्चित गीत ‘दिन ढल्यो अँधेरी रातमा’को केही अंश समेत गाएकी थिइन् । उनले उक्त गीतको शब्द ज्ञानेन्द्र गदालले रचना गरेको र संगीत उनका श्रीमान् गणेश पराजुलीले भरेको बताइन् ।
पराजुलीका अनुसार विवाहअघि उनी मुख्यतः शास्त्रीय संगीतमा आबद्ध थिइन् । उक्त गीत रेकर्ड गर्दा उनी २१ वर्षकी थिइन् र त्यसबेला आफूलाई धेरैले नचिन्ने बताइन् ।
‘त्यो गीत यति लोकप्रिय होला, यही गीतले मलाई चिनाउनेछ भन्ने कल्पना पनि गरेको थिइन् । त्यतिबेला न सामाजिक सञ्जाल थियो, न अहिलेजस्ता प्रचारका माध्यम । रेडियो नेपालमा बजेकै भरमा गीत स्रोतमाझ पुग्यो,’ उनले सम्झिइन् ।
आजपनि स्टेज कार्यक्रम र महोत्सवहरूमा सहभागी हुँदा दर्शक–स्रोताले सबैभन्दा बढी यही गीत सुनाउन आग्रह गर्ने गरेको उनले बताइन् ।
पराजुलीले स्रोता–दर्शकप्रति आभार व्यक्त गर्दै नयाँ गीत र दृश्य सामग्री (भिजुअल) सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
‘स्रोताले सधैं माया गर्नुभएको छ । हामी नयाँ–नयाँ गीत ल्याउने प्रयासमा छौं । केही गीत रेकर्ड भइसकेका छन्, अब भिजुअलको तयारी पनि भइरहेको छ,’उनले भनिन् ।
दशकौंअघि रेकर्ड भएको ‘दिन ढल्यो अँधेरी रातमा’बाट स्थापित भएकी यशोदा आज पनि नेपाली संगीतप्रेमीमाझ उत्तिकै लोकप्रिय छिन् । उनका अनुसार कलाकारका लागि समय परिवर्तन भए पनि सफलता प्राप्त गर्न र त्यसलाई टिकाइराख्न निरन्तर साधना र मेहनत अपरिहार्य छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार