काठमाडौं । नेपाली अभिनेत्री अदिती बुढाथोकी यतिबेला मुम्बईमा आफ्नो अभिनय करिअरलाई निरन्तर अघि बढाइरहेकी छन्। म्युजिक भिडियो, विज्ञापन र डिजिटल कन्टेन्ट निर्माणमा सक्रिय अदितीले पछिल्लो पटक बलिउड अभिनेता जहिर इकबालसँग नयाँ म्युजिक भिडियोमा सहकार्य गरेकी छन्।
उनीहरू अभिनीत ‘फरिश्ता’ बोलको गीत हाल दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। गायक कमल खानको स्वर रहेको यस गीतको भिडियोमा अदिती र जहिरबीचको रोमान्टिक केमिस्ट्रीलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।
निर्देशक फरहाद साम्जीले निर्देशन गरेको भिडियोमा समुद्री किनारका आकर्षक दृश्यहरूलाई सुन्दर ढंगले कैद गरिएको छ। उत्कृष्ट छायांकन, रमणीय लोकेसन र आकर्षक प्रस्तुतीकरणले भिडियोलाई थप प्रभावशाली बनाएको छ।
नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’मा अभिनय गरेपछि अदितीले आफ्नो करिअरको केन्द्र मुम्बईलाई बनाएकी छन्। त्यहाँ उनी विभिन्न म्युजिक भिडियो, विज्ञापन र अन्य मनोरञ्जन परियोजनामा व्यस्त रहँदै आएकी छन्।
सार्वजनिक भएको छोटो समयमै ‘फरिश्ता’ म्युजिक भिडियोले १९ लाखभन्दा बढी भ्युज हासिल गरिसकेको छ, जसले दर्शकमाझ यसको लोकप्रियता झन् बढिरहेको संकेत गरेको छ।





