नयाँ वर्ष २०८३ को छेको पारेर प्रदर्शन हुने तयारीमा रहेको एक्सनप्रधान नेपाली फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता विराज भट्टलाई केन्द्रमा राखिएको करिब २ मिनेट लामो टिजर एक्सन दृश्यले भरिएको छ।
टिजरमा विराज सयौं भिलेनसँग भिडिरहेका देखिन्छन्। उच्च प्रोडक्सन भ्यालुका साथ तयार गरिएको टिजरमा एक्सन दृश्यहरू दक्षिण भारतीय शैलीमा खिचिएको झल्को पाइन्छ।
टिजरको सुरुवातमै विराजको संवाद छ, “मृत्युलाई सारथी ठान्ने म, पहिलो पटक डराएँ। जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाएँ।” यस संवादमार्फत फिल्मको कथावस्तुको संकेत गरिएको छ। आफ्ना प्रियजन गुमाएपछि नायकले लिने बदलामा फिल्म आधारित रहेको टिजरले स्पष्ट संकेत गर्छ। टिजरमा विराजले पश्चिमेली भाषा बोलेको दृश्य पनि समावेश गरिएको छ।
कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको अभिनय रहेको छ। टिजरमा यी कलाकारहरूको झलक देखिए पनि संवाद भने मुख्यतः विराजकै राखिएको छ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन्।
फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ।
फिल्मको छायांकन ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै औपचारिक रूपमा सुरु गरिएको हो। उक्त अवसरमा निर्देशक चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको परियोजना भएको बताए।
अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि आफू यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु निकै सशक्त रहेको बताए। अभिनेता सुशील श्रेष्ठले पनि फिल्मको कथा उत्कृष्ट रहेको भन्दै दर्शकको साथको अपेक्षा व्यक्त गरे।
फिल्म २०८२ साल चैत २७ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।






