००:००:००
ट्रेन्डिङ
समाचार

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १६
98
निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
सारांश
निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् ।

जनकपुर । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् ।

निर्वाचन आयोग, नेपाल र नेपाल कानून समाजद्वारा सोमबार जनकपुरधाममा आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका नामक छलफल कार्यक्रममा बोल्दै आयुक्त जवराले आचारसंहिताको पालन गर्न र गराउन सबैजनाको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

आयुक्त जवराले निर्वाचनमा सहभागी हुने राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय, उम्मेदवार, कर्मचारी, संघ संस्थाहरुलाई कुनै पनि काम गर्दा आचारसंहितालाई ध्यानमा राखी गर्न आग्रह गरे ।

उनले आचारसंहिताको मुख्य उद्देश्य मतदाताले स्वतन्त्र निर्णय गर्न सक्नु, निर्वाचन स्वच्छ, भयरहित, स्वतन्त्र, निश्पक्ष वातावरणमा सम्पन्न हुन सक्नु र सबै राजनीतिक दल र उम्मेदवारलाई समान प्रतिस्पर्धाको वातावरण सृजना गर्नु रहेको जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा हुन सक्ने कुनै पनि अनैतिक आचरण र व्यवहारलाई सम्बोधन गर्नका निम्ति तयार गरिएको दस्तावेज नै आचारसंहिता हो । उनले सो दिशा निर्देशनलाई आत्मसाथ गरी सबैले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हाल देशमा सृजना भएको विषम परिस्थितीलाई चिर्दै अमन र शान्ति कायम गर्न निर्वाचन अति आवश्यक रहेको धारणा राखे ।

मुख्यमन्त्री यादवले मुलुकलाई सहि दिशामा फर्काउन निर्वाचन आवश्यक रहेको र सहि तरीकाले निर्वाचन सम्पन्न गर्न आचारसंहिता पालना गर्नु मात्रै विकल्प रहेको बताए । कार्यक्रममा विभिन्न दलका उम्मेदवार, सञ्चारकर्मी, नागरिक समाज र सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार