काठमाडौं । आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री निरुता सिंहलाई मुख्य रूपमा प्रस्तुत गरिएको टिजरले फिल्मको कथावस्तु र एउटी आमाको संघर्षलाई चित्रण गर्ने प्रयास गरेको छ ।
बच्चा रोएको आवाजसँगै सुरु हुने टिजरमा निरुता काखमा बच्चा लिएर आमाको जिम्मेवारी निभाइरहेको देखिन्छ । उनको पैताला भने आगोले जलेको छ । ग्रामीण महिलाको रूपमा प्रस्तुत भएकी निरुता असह्य पीडाका बाबजुद बच्चालाई स्तनपान गराउँदै गरेको दृश्यले दर्शकको ध्यान खिच्छ ।
दुखाइले दाँत किट्नुपर्ने अवस्थामा समेत उनी काखको बच्चालाई न्यानो माया र स्नेहका साथ सम्हालिरहेकी छन् । टिजरमा देखाइएका यी दृश्यले आमाको ममता, त्याग र सहनशीलतालाई झल्काउँछन् । सार्वजनिक टिजरका आधारमा फिल्मको कथा एउटी आमाको संघर्ष र मातृत्वको भावनामा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, अनिता कुईकेल, गायत्री जोशी, कल्पना थापा, गिरी विश्वकर्मा, मदन थापा, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का र सागर कँडेललगायतका कलाकारको अभिनय छ ।
सम्पादकका रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । फिल्मका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।
फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।





