काठमाडौं । मंगलबार सेयर बजारमा सुधार देखिएको छ । परिसूचक नेप्से १३.५१ अंकले बढेर २८१२ अंकमा पुगेको छ । कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
आज कुल १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत रूपमा हाइड्रोपावर सबैभन्दा बढी १.५९ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१ तथा उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशतले उकालो लागेको छ ।
यता केही समूहमा भने गिरावट देखिएको छ । फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ तथा अन्य समूह ०.१० प्रतिशतले घटेका छन् । आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन रहेका छन् ।
अन्य बढ्ने कम्पनीहरूमा शिवश्री हाइड्रोपावर ८.१, लिबर्टी इनर्जी ७.५३, माहुली लघुवित्त ६.४४ तथा न्यादी हाइड्रोपावर ६.१६ प्रतिशतले उकालो लागेका छन् । यता अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य २.२६ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर तथा शिवश्री हाइड्रोपावर रहेका छन् ।




