काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार बिहान ललितपुरस्थित महालक्ष्मीस्थान मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरेसँगै फिल्मको छायांकन थालिएको हो ।
काठमाडौंसहित काभ्रेको पाँचखाल र पनौतीमा छायांकन हुने फिल्मलाई आगामी चैत ४ गते प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् । त्यस्तै, उनकी दिवंगत श्रीमती यशोदा सुवेदी (श्रेष्ठ)को भूमिका अभिनेत्री केकी अधिकारीले निर्वाह गर्नेछिन् ।
मदनकृष्ण श्रेष्ठका पाँच दशकदेखिका सहकर्मी हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री देखिँदा हरिवंशकी श्रीमती रमिला पाठकको भूमिकामा वर्षा राउतले अभिनय गर्नेछिन् ।
राजकुमार श्रेष्ठको लगानीमा निर्माण हुने फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछन् । राष्ट्रिय अवार्डसमेत जितिसकेका निर्देशक चाम्सले यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता बायोपिक फिल्म निर्देशन गरिसकेका छन् । तीमध्ये ‘अञ्जिला’ व्यावसायिक रूपमा सफल भएको थियो ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, सिर्जना अधिकारी, हिउँवाला गौतम र दीया जिसीलगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारिता यात्रा, जागिरे जीवन र हरिवंश आचार्यसँगको मित्रतासहित जीवनका विभिन्न पाटोलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ ।





