काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लज्जावती’ को नयाँ गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ। भावनात्मक शब्द र संगीतले भरिएको यो गीतले प्रेम, विछोड र त्यसपछिको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
गीतका शब्द भीमकुमार ओझा ले लेखेका हुन् भने थानेश्वर गौतम को स्वर रहेको छ। सन्तोष बीसी को संगीत र नारायण दंगाल को संगीत संयोजनले गीतलाई थप प्रभावशाली बनाएको छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मेनुका माझी र श्रीकृष्ण निरौला को प्रेम र विछोडपछिको भावनात्मक यात्रालाई देखाइएको छ। प्रेमिकाबाट टाढिएपछि हराएका श्रीकृष्णलाई मुकुन भुसाल र जानुका विश्वकर्मा ले खोज्दै हिँडेको दृश्यले कथालाई थप संवेदनशील बनाएको छ।
यसअघि सार्वजनिक गरिएको फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुक रिल्स मा लोकप्रिय बनेको थियो। नयाँ गीतले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने निर्माण पक्षको अपेक्षा छ।
निर्देशक राजबहादुर साने का अनुसार फिल्मले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ।
आहा फिल्म्स प्रालि को प्रस्तुतिमा बनेको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।





