मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

दसैंका तीन फिल्मको व्यापार साढे ८ करोडमाथि, ‘आ बाट आमा २’ सबैभन्दा अगाडि

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
0
500
दसैंका तीन फिल्मको व्यापार साढे ८ करोडमाथि, ‘आ बाट आमा २’ सबैभन्दा अगाडि
सारांश
दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को बक्स अफिस व्यापार सार्वजनिक भएको छ ।

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को बक्स अफिस व्यापार सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार तीन फिल्मले आइतबारसम्म कुल ८ करोड ७४ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेका छन् ।

दसैंमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘आ बाट आमा २’ व्यापारमा सबैभन्दा अगाडि देखिएको छ । फिल्मले १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्री गर्दै ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ ।

त्यस्तै, ‘छ माया छपक्कै २’ले ८२ हजार ७५९ वटा टिकट बिक्रीबाट २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस व्यापार गरेको छ । यो फिल्म दसैंका तीन सिक्वेलमध्ये कमाइको आधारमा दोस्रो स्थानमा रहेको छ ।

एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’ भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । फिल्मले प्रदर्शनको १० दिनमा ५७ हजार ९८३ वटा टिकट बिक्री गर्दै १ करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कमाएको छ ।

दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ले पहिलो सातामै ५ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो । तर, यसको सिक्वेलले भने १० दिनमा २ करोड रुपैयाँको आँकडा पार गर्न सकेको छैन ।

यसैबीच, चलचित्र विकास बोर्डले दसैंअघि प्रदर्शनमा आएका तीन फिल्मको व्यापार विवरण पनि सार्वजनिक गरेको छ । यस वर्ष सर्वाधिक कमाउने फिल्म बनेको ‘गौँथली’ले २६ करोड ३ लाख १४ हजार ९० रुपैयाँ ग्रस कमाएको छ ।

त्यस्तै, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस व्यापार गरेका छन् ।

बोर्डको विवरणअनुसार ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ भने दसैंका तीन सिक्वेलमध्ये ‘आ बाट आमा २’ले व्यापारमा अग्रता कायम गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार