काठमाडौं । १ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले यतिबेला बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ । यस वर्षको सर्वाधिक एकदिने कमाइदेखि १० दिनमा सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड ‘गौँथली’को नाममा बनिसकेको छ । अब फिल्मले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यो यस वर्ष १० करोडमाथि व्यापार गर्ने पहिलो फिल्म बनेको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्मले बुधबार साँझ ७ बजे १० करोडमाथि व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । योसँगै ‘लालीबजार’को नाममा रहेको यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड तोडिएको छ । यो फिल्मले बक्स अफिसमा ३ लाख १६ हजारभन्दा बढी टिकट बिक्री गर्दै त्यसबापत ९ करोड ३२ लाखमाथि व्यापार गरेको थियो ।
यही शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गर्न लागेको फिल्मको व्यापारिक रफ्तार अझै कम भएको छैन । दोस्रो हप्तामा समेत फिल्मले दैनिक ८० लाखमाथि व्यापार गरिरहेको छ । गत शनिबार त फिल्मले एकैदिन १ करोड ६५ लाख कमाएको थियो । बोर्डले आगामी सोमबार बक्स अफिस विवरण सार्वजनिक गर्दा फिल्मको व्यापार १३ करोडमाथि हुने अनुमान गरिएको छ ।
बाल विवाहलाई केन्द्रमा राखेर श्रीमान्-श्रीमतीबीचको सम्बन्धको कथा पेस गरेको फिल्मले विशेषगरी महिला दर्शकलाई आकर्षित गरेको छ । फिल्म हेर्न हलमा पुग्ने लगभग ८० प्रतिशत महिला छन् । फिल्मले प्रतिक्रिया पनि उत्कृष्ट पाउँदा व्यापारमा दिनप्रतिदिन बढोत्तरी भइरहेको छ । फिल्मले प्रदर्शन अवधिभर १५ देखि १७ करोडमाथि व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
फिल्मले अभूतपूर्व व्यावसायिक सफलता गरेसँगै यसका दुई मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको चर्चा भइरहेको छ । अरुणलाई त अबको ‘स्टार’को रूपमा हेर्न थालिएको छ । उनले फिल्ममा अटिजम भएको ‘ठूले’ पात्रको भूमिकामा जीवन्त अभिनय गरेका छन् । उनका लागि ‘गौँथली’ करिअरको टर्निङ पोइन्ट बनेको देखिन्छ ।
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूले अभिनय गरेका छन् । करिब तीन दशकअघि बनेको गीति फिल्म ‘गौँथली’को पात्रको कथामा यो फिल्म निर्माण भएको हो ।
‘गौँथली’को कमाइ १० करोड पार, वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो

4 घण्टा अगाडि
110
2.3K

सारांश
काठमाडौं । १ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले यतिबेला बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ । यस वर्षको सर्वा...
सम्बन्धित समाचार



