चर्चित गायिका आशा भोस्ले को ९२ वर्षको उमेरमा निधन भएको छ।
दशकौँसम्म बलिउडमा आफ्नो स्वरले राज गरेकी भोस्ले आधुनिक भारतीय सङ्गीतकी सर्वाधिक प्रभावशाली र बहुप्रशंसित गायिकामध्ये एक मानिन्थिन्। उनले हिन्दी मात्र होइन, नेपालीसहित विभिन्न भाषामा गीत गाएर संगीत क्षेत्रमा अमिट छाप छोडेकी छन्। उनका थुप्रै नेपाली गीत आज पनि कालजयी मानिन्छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। हृदय तथा श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण केही महिनादेखि अस्वस्थ रहेकी उनी गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी थिइन्। शनिबार राति उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो।
उनका छोरा आनन्द भोस्लेले आइतबार दिउँसो आमाको निधन भएको पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि सोमबार गरिनेछ।
भारतीय फिल्म सङ्गीतमा भोस्लेको स्थान दिदी लता मंगेशकरसँग तुलना गरिन्थ्यो। सन् १९३३ मा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन्। सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेपछि १९५० को दशकसम्म उनी बलिउडमा स्थापित भइसकेकी थिइन्।
त्यसपछिका तीन दशकसम्म उनी अधिकांश सङ्गीतकारहरूको पहिलो रोजाइ बनिन्। प्रारम्भिक चरणमा क्याबरे शैलीका गीतमा सीमित देखिए पनि उनले पछि गजल, शास्त्रीय तथा आधुनिक सबै शैलीमा उत्कृष्टता देखाउँदै आफ्नो दायरा फराकिलो बनाइन्। विशेषगरी “उमराव जान” मा गाएका गजलहरूले उनको गायन यात्रालाई नयाँ उचाइमा पुर्यायो।
आफ्नो लामो करिअरमा उनले सात पटक फिल्मफेयर उत्कृष्ट पार्श्वगायिका पुरस्कार जितिन् भने दुई पटक राष्ट्रिय फिल्म पुरस्कार पनि हात पारिन्।सन् २०२३ मा दिएको एक अन्तर्वार्तामा उनले समकालीन सङ्गीतप्रति आफ्नो धारणा व्यक्त गर्दै आजकालका गीत कमै सुन्ने बताएकी थिइन्।
उनले आजकाल उत्कृष्ट शब्द भएका गीत कम पाइने बताए पनि कहिलेकाहीँ राहत फतेह अली खान र सुनिधि चौहानका गीत भने मन पर्ने गरेको उल्लेख गरेकी थिइन्।





